सम्पादकीय

“श्रेयसि बहुविघ्नानि भवन्ति महतामपि” अर्थात् श्रेयस्कर कार्यमा महान्-महान् व्यक्तिहरुलाई पनि धेरै बिघ्नबादाहरू हुन्छन् रे यसैले हामीहरू जस्ता सामान्य जीवहरूका कार्यमा केही सामान्य समस्याहरू आउनु त स्वभाविक नै हो । मधुमास नामको यो सानो साहित्यिक वाटिकाको प्रयासमा पनि यस्तै केही समस्याहरू नआएका भने होइनन् तर ती समस्याहरूलाई झेल्दै कहिले रेलका डब्बाहरूबाट, कहिले प्लेटफार्मबाट कहिले नदी किनाराबाट मधुमास पस्कने प्रयासहरू केही दिनदेखि शुरूभएको छ । भनिन्छ-
ढुङ्गाको काप फोरेर पनि उम्रन्छ पिपल 
सिर्जना शक्ति संसारमा कहिल्यै हुदैन विफल 
यसैले छोटो अवधिमै पनि मधुमासले धेरै नेपाली मन र मुटु लिएर संसारका विभिन्न देशहरूमा छरिएर रहेका तथा स्वदेशमा रहेका नेपालीहरूको प्रेम पाएको छ । मधुमास एक नवजात शिशु जस्तै नै छ यस वाटिकामा अझै धेरै गमलाहरू खाली-खाली रहेकाछन् यहाँहरूका रचनारूपी फूलहरूको खाँचो छ मधुमासलाई । साथै बालक मधुमासले चपलता देखाएर केही गल्तीहरू पनि गरिरहेको होला बालकहरू त चपलता देखाउँछन् नै तर बालकको चपलतामा यहाँरूले कुनै रिश-राग राख्नुहुने छैन भन्ने मधुमासले ठानेको छ तथा बालकका गल्तीहरू सुधार्न यहाँहरूले सहयोग गर्नु नै हुनेछ भन्ने पूर्ण विश्वास पनि छ । कोही देशका त कोही परदेशका समस्याहरूलाई झेल्दै गरेका तथा साहित्य पिपासु नेपालीहरूलाई साहित्यरूपी फूलहरूले सजिएको पूर्णमधुमास दिनु तथा नवोदित नेपाली साहित्यिकारहरूलाई हौसला प्रदान गर्नु नै मधुमासको एक विशुद्ध लक्ष्य हो । मधुमास तपाईंको हो अनि मधुमासको तपाईंहरू नै । यसैले मधुमासमा रहेका रचनाहरू पढिसकेपछि तपाईंहरूलाई कस्तो लाग्यो प्रतिकृयाहरू दिनुहोला । प्रतिकृया दिदा रचनात्मक तथा स्रष्टाहरूलाई सहयोग पुग्ने खालका सुझाव शिष्ट शब्दहरूमा दिने प्रयास गर्नुहोला । शिष्ट र मधुर शब्दहरू प्रयोग गरेर लेख रचनाहरू तयार गर्नुभएमा मधुमासमा अझ मधुरता आउने छ भन्ने हाम्रो विश्वास छ । 

अनाम अज्ञातबासी

3 comments:

  1. मधुमास तिम्रो नाम नै यति मिठो तिमी छाईरहनु युग-युगसम्म नेपाली मुटुहरूमा मेरो शुभकामना ।

    कविन्द्र पौडेल
    तनहुँ ।

    ReplyDelete
  2. मधु माश अब बालक छैन जस्तो लाग्यो! यसको सम्पादकीय हेर्दा एक परिपक्को अनुभवी सम्पादक को जस्तै लाग्यो भने रचना हरु पनि स्तरीय देखे किन बालक भनेको यो कुरा भने बुझिन !

    ReplyDelete
  3. धन्यवाद् कविन्द्र ज्यू यहाँको शुभकामनाका लागि ।

    नाम नलेख्ने हाम्रा अर्का पाठक ज्यूले सोध्नुभएको रहेछ मधुमासलाई किन बालक भनिएको भनेर । कुरो के भने यो अज्ञातवबासीले कहिलेकाही अरूले लेखेको देख्ने र अलिअलि लेख्ने चाँहि पक्कै गर्ने गरेको थियो तर न त कहिल्यै सम्पादन नै गर्‍यो न यो ब्लग बनाउँने कार्य नै । यसैले यो क्षेत्रमा बालक नै भएकोले यस्तो लेखिएको हो । हामीले न्यायशास्त्रको शुरुवातमा एक तर्कसंग्रह नामको पुस्तकमा पढेका थियौं "अधीतव्याकरणकाव्यकोशोऽनधीतन्यायशास्त्रो बालः" अर्थात् व्याकरण, काव्य, कोश आदि पढेर पनि न्याय नपढेको व्यक्ति भए त्यो न्यायशास्त्रको लागि बालक नै हो । यसैगरी अन्य कार्यमा अलि-अलि सामेल भए पनि यो कार्यमा नयाँ भएकाले तथा मधुमास यही जनवरी १३, २०११ बाट शुरू गरिएकोले बालक लेखिएको हो । यसमा गल्ती भएमा अर्को सम्पादकीयमा मधुमास तन्नेरी भएको कुरा लेखुँला नि हुन्न र ?

    मधुमास पढेर अमूल्य सुझाव दिनुभएकोमा यहाँलाई धेरै-धेरै धन्यवाद् यदि समस्या नभएमा प्रतिकृया दिदा नाम पनि लेख्नु होला ।

    अज्ञातबासी

    ReplyDelete