मधुमास: कथा

रङ्ग-आर्शिवाद रगतको
 -विद्या सापकोटा
धानका बालाहरु लहलह झुल्न लागेका थिए । पहेंला फाँट, सुगन्धि मौसम मन त्यसै रमाउथ्यो । चाडबाडको माहौल, घरघरमा रौनक बेग्लै थियो । पल्लो कमेरेडाडाँमा र वल्लो रातोमाटेमा उत्तिकै चहलपहल देखिन्थ्यो । आ-आफ्ना घर-करेसा लिपपोत र सरसफाइमा होडबाजी नै चल्न लागेको थियो । पधेँरा-कुवामा शहर गएका, विदेशिएका को-को आफन्तहरु गाउँ भित्रिए हिसाबकिताब चलिरहेको हुन्थ्यो । बच्चाहरुको भिन्न झुण्ड नयाँ कपडा लगाएर कसको बाबाले के ल्याए भन्दै घरघर चाहर्न थालेका थिए । माथि पिपलडाँडामा युवाको अर्को मण्डली पिङ हाल्ने लठारो बाट्नको लागि झुत्तिन लागेका थिएँ । नहोस् पनि किन जो बडादशैं आइसकेको थियो ।

ऊ एउटै थियो, यी सबबाट बेखबर । बस्तीको छेउ भएर बग्ने सामरी खोलो झण्डै-झण्डै सङ्लो देखिए पनि बर्खे भेलले बगाएका बलौटे फाँटहरु एकतमासको सान्नटा बोकेर फैलिरहेकै हुन्थ्यो । लमतन्न बगरको झण्डै बीचमा तेर्सिएको ठूलो ढुङ्गामा अडिएर घोरिइरहन्थ्यो ऊ अर्थात् भानुवीर। पश्चिमको चीसो सिरेटोले हान्दा बिगतले झन्झन् झस्काउथ्यो तर पनि त्यो बगर, त्यो खोला अनि आफू अडिइरहेको बढेमाको ढुङ्गासँग खुब प्यार थियो, अनौठो लगाव ।





मधुमासः कविता

लथालिङ्ग घर मेरो भताभुङ्ग देश


-चिरञ्जीवी सुवेदी
बुट्टे साडी ल्याईदेउ बाबु तिम्री बुढीलाई
मजेत्रो नि छैन अरे ठूली दिदीलाई

आमा थिइन बिमार बरै! ओछ्यानको छेउ
खोकी रहन्छिन बाह्रै मासे खकार सँगै लेउ

बच्चा थुरथुर काप्दै थिए पुष-माघको जाडो
भैसी बाँध्ने गोठ भत्की बाहिरै थियो पाडो

दुवई को शहरमा गई कमाई ल्याउने रहर
आवश्यकता पुरा गर्न पिउनै पर्‍यो जहर

लथालिङ्ग घर मेरो भताभुङ्ग देश
आफ्नो ज्यान आँफै बेची लागे परदेश

अर्थुङे-४ म्याग्दी
हाल- यु ए ई

मधुमास: गजल

मुटु भित्र धड्कनमा
-किरण टी लिम्बु 

मुटु भित्र धड्कनमा तिमीलाई नै पाई रहेँ,
साँचो माया नपाए नि तिमीलाई नै चाही रहेँ ॥

सम्झनाको तरेलीमा यादहरु बगी आउँदा,
तिम्रै नाम परेलीमा गीत लेखी गाइ रहेँ, ॥

लालायित आँखा भित्र आशा सबै मरे पनि,
तिम्रै यादमा बाँची र'ने वाचा-कसम् खाई रहेँ ॥

तिम्रो मनको कालो दाग जुनमा झैँ लागे पनि,
बिहानीको शीत जस्तै चोखो माया लाई रहेँ ॥

पिरतीको घाम डुब्दा साँझ पख एकान्तमा,
आशा-दीप किरण बनी तिम्रै मनमा छाई रहेँ ॥

इटहरी, सुनसरी,
हाल: बेलायत