मधुमास: कविता

मृत्युफूल 
-खगेन्द्र पन्दाक लिम्बु 
मलामीहरुको माझ रौसिएर 
चिहानघारीको स्वर्णिम बसाईंपछि
मुर्कुट्टाहरुको रेखदेखमा-मृत्युफूल
अस्तुहरुको पिरामिड उक्लिएर मनग्गे फुल्छ -
सुनाखरी झैं झुप्पा-झुप्पा !
अस्थिपन्जरका हाँगाहाँगा !

नारायणहिटीछेऊको बुढोरुखबाट
चमेरे पेन्डुलम जीवनको गीत लिएर
मसानघाटको रोदीमा झर्नू
चुँडेलहरुको प्रेमिलो सालैजोसंग
नाच्नू-नचाउनू निरबाँध
छमछम-कंकाल जिन्दगीलाई
र, बुझ्नू सम्प्रभुत्ताको ससंत्र प्राण ।



बाँच्ने बहानामा मर्नुपूर्वको मृत्यु जिन्दगीमा
कहाँ यतिको -जमिनपत्ती हुनु !- यो खाडल जस्तो
एतिको निख्लम-निक्खर-निस्खोट वस्त्र
कहिले बेर्न पाउनु -यो कफन जस्तो
एतिको कहाँ समर्थन पाउनु -मलामी जस्तो
एतिको नूनिलो कहाँ चाख्नु -आँसुको स्वाद जस्तो
एतिको न्यानो कहाँ ताप्नु -दागबत्ती जस्तो

भूतहरुको शान्तिसेना म
परेड खेल्दै-खेल्दै...
मध्यरात गाउँ-सहर छिर्छु
 र कि बिउँताउँछु निन्द्राहरु !  
कि हिरिकहिरिक बाँचेकाहरुको घांटी ङ्याकेर
लान्छु-घाटप्रदेश अपहरण गरेर,
यहाँ माटो-पानीको क्रयबिक्रय छैन l
पसिनाहरुको शोषण छैन l
अट्टहाँस प्रेतात्मा हाँसो जोख्ने
तुलो-तराजु छैन-राजा-रैती छैन l

प्रकोप-युद्ध-महायुद्ध-काल-अनिकालका
थाक-थाक,चाङ्-चाङ् लासहरु
पहाड,तराई,मरुभूमि,हिमाल-जस्तो सुन्दर
चिहान नै चिहानघारीहरुमा-समदर्जाले
आफ्नै शरीरमाथि अमूर्तबोधी दर्शनको
कुरूपसौन्दर्य चिन्तनले- -
दुरूहमार्गी तारे भीरहरुमा-
अस्तुहरुको पिरामिड उक्लिएर
मृत्युफूल मनग्गे फुलिहन्छन-
सुनाखरी झैं झुप्पा-झुप्पा !
अस्थिपन्जरका हाँगाहाँगा !

No comments:

Post a Comment