नीलो तृष्णा
–विद्या सापकोटा
म यसैपनि अन्तर्मुखी स्वभावको मान्छे, शान्त वातावरण र सानाठूला बोटबुट्यानहरु । हरबिहान म आफ्नो ओछ्यानबाटै बाहिरी दुनियाँ नियाल्थे । चिया पिउने मेरो बानि थिएन,छैन ।झण्डै एक चिया बसाइमा मै शीतले सफा पारेका चुत्राका पातहरु आफ्ना रङ्ग बदल्थे, त्यो कुनै जादू थिएन सिवाय चराचुरुङ्गीको बदमासि । घामको चहकसँगै ती अझ टल्कदै जान्थे, बदलिएको रङ्ग, रुप र बिरुपतामा मलाई एक्लै हाँसो उठ्थ्यो एकसाथ रंगिनताको मीठो आभास मभित्रै संचार भए झैं पनि लाग्थ्यो ।
हुनतः म यहाँ सरुवा भएर आएको एकवर्ष मात्रै हुन लागेथ्यो । मान्छेको जंगलमा अभ्यस्त भइसकेको म, साच्चैको यो जंगल, त्यसमा पनि घामले आक्कलझुक्कल मात्र चियाउने ओसिला कोठाहरु । बाफरे शुरुमा त म अत्तालिएको थिए, धन्न इन्टरनेट सुविधाले हाँस्न नसके नि बाच्न सक्नेसम्म बनाइदियो । बिस्तारै , ब्यारेकभन्दा केही माथिको घमाइलो भूई फलैंचामा बसेर घामका किरणहरु ओड्दैं ल्यापटपसँग हराउने बानी पर्न लाग्यो । पछिपछि, उही परिवेश आफ्ना लाग्न थालें जहाँ म सोचाइका दरभंगाहरु तर्दातर्दै कताकता हराउथे, हराइदिन्थे, उसकै यादमा ।
मेरो यो जंगल बसाइ उसकै कारणले सहज भएको थियो । ऊ अर्थात् थोरै चुलबुले, धेरै प्यारी मेरी बि । ऊ म भन्दा सानी थिई, धेरै सानी सायद कच्चा पनि । मुख्य कुरा त उसको बालापन गएकै थिएन । उसमा भर्खरै मात्र चञ्चलताका बहाबहरु देखापर्न लागेका थिए । भावनाका गहिराईमा पौडिरहेकी हुन्थी ऊ । एक्लैएक्लै मुस्कुराउथी, हावासँगै उडिदिन्थी, पानिसँगै बगिदिन्थी, जून हास्दा हासिदिन्थी, शीतसँगै रोइदिन्थी पनि । उसको त्यो निश्चल हाँसो, निर्मल मन र बालापन मिश्रित भावले नजादिदो पाराले मलाई उसैतिर खिच्दै लगेथ्यो, म खिचिदैं गएथें ।
ऊसँगको भेट पनि कम्ती रोमाञ्चकारी थिएन । एक रापिलो विहान, म ल्यापटप काखमा राखेर समाचारका साइटहरु चाहरीरहेको थिएँ । यसैबीच एक चाखलाग्दो पाठक प्रतिक्रियामा मेरो आँखा पर्यो । को होला यस्तो लेख्ने सोच्दानसोच्दै परिचय मिल्यो ‘सपना र चाहनासँग उडिरहेकी एक बच्ची’ साथैमा अझ जिज्ञासु बनाउने खालको इमेल ठेगाना । म कसैसँग सम्पर्कमा आइहाल्ने बानिको मान्छे पक्कै होइन तर खैं के रहर चल्यो ।
म तिमीसँग कुरा गर्न चाहन्छु, मलाई च्याटमा भेट्न सक्छौं ? सररर टाइप गरें ।
हो हैं, लौं के कुरा हो गरौं न त । ऊ नेटमै रहिछ, अग्रजी अक्षरहरु राम्रै फर्माए ।
यस्तैमा हाम्रा कुराकानीका सिलसिला शुरु भएँ । उसले बडो आनन्दसाथ आफ्नो नाम बताइदिई ‘म विभुती शर्मा’।
रसिली, फरासिली, उत्साही रहिछे ऊ । त्यो भन्दा बेशी मलाई उसको बारेमा खासै थाहा भएन ।
जमाना संचारको छ, नेटको छ, संजालको छ जहाँ दुनियाँ भेटिन्छ । सुरादेखी सुन्दरीसम्मको कुरा हुन्छ, सडकदेखी सदनसम्मको बहस चल्छ, ऊ भेटिनु कुनै नौलो कुरा थिएन । हामी बेलाबखत भेटिन्थ्यौ । छोटो समयको अन्तराल मैहाम्रो मित्रताको डोर कसियो | बीस–बाइसमा दौडदै गरेकी आधुनिक युवती र चालिस बयालिसको अधबैंसे पुरुषका अतुलनीय रहरहरु,भोगाइहरु तपशिलमा परे |
जहाँ जसरी पनि रमाउनुपर्छ,हासेर बाच्नुपर्छ भन्ने उसको सिद्धान्त थियो । ऊ सधै उत्साहको कुरा गर्थी, सफलताको सपना देख्थी ,हरकुरालाई सकारात्मक रुपले हेर्ने लोभलाग्दो आँखा, मन उसँग थियो । उसका प्रियतमाहरुको लिस्टमा नछुटिकन पर्थे परिवार, साथी, पुस्तक, कम्प्युटर, टि.भी., कलम र प्रकृती ।
"के गर्दैछु बि," म प्रेमपूर्वक सोध्थे ।
"गर्नु नै के छ र, सुम्निमा सकाउन लागें ।"
"भोली–पल्पसा क्याफे, पर्सि फलानो फिल्म,साथीहरसँग भेटघाट, स्व-लेखन .............................."एक न एकसँग सधै मस्तमख्ख |
छि ! कस्तो झुर केटीसँग भेट भएछ? आफू त्यो लिस्टमा पर्न नसक्नुको क्षोभले दिक्दारी पोख्थे म |
"छोड न, त्यो तिम्राहरुको कुरा, केही आफ्ना कुरा बताऊ ।"
मेरो चिडचिडाहटको किन पर्वाह गरोस र ऊ, कल्पनामा कावा खादै बोलिदिन्थी, "अरे बाबा मेरो बारेमा जान्ने त्यत्रो उत्सुकता हुनेले त खुरुक्क पल्पसा क्याफे पढ्नु नि, त्यो पल्पसा म नै हुँ क्या | " लौ फसाद ! आफ्नो रोजाइमा कहिल्यै नपरेको कुरो पुस्तक, उसलाई जान्न पढ्नैपर्ने भयो |
आफूलाइ खुला किताब भनिदिने ऊ मलाई भने बडो रहस्यमयी लागी, लागिरही |
'आकाक्षाको म्याराथनमा दौडिरहेकी कुशल धाविका रहिछ ऊ', प्रत्यक्षभेटपछिको मेरो अन्दाज |
उसको आगमन मेरो लागि सुखद रह्यो । उसँगको कुराकानीले मेरा सारा थकान भाग्थे । त्यसैले त घामको बर्को उछिट्टिएर शीतको पछ्यौरी लपक्क भिजिसक्दा पनि प्रतिक्षा चियाइरहन मन पराउथें म । कहिलेकाहिं बेखबर रहिदिदाँ, आफूले 'आफूलाई के सम्झदी हो यो केटी ?' मुर्मुरिदैं निदाउथें म, प्रतिक्षाको देउरालीमा भिमसेनपाती चढाउदै बिउझिन्थ्यो मन ।
पछिल्ला दिनहरुमा ऊ अझ ब्यस्त रहन थाली, हाम्रो भेट पातलिदैं गयो । यसो हुनु के थियो,मेरा संकटका पलहरु शुरु भएँ । मलाई अनौठो भूमरीले थिच्न लाग्यो। बेला न कुबेला त्यसको निश्चल हाँसो मलाइ बिथोल्न आउन लाग्यो । यादहरुमा लहराउन लागी ऊ । “सुनेनौं काग कराएको, मैले सन्देश पठाएथें त,” कल्पना मै जिस्याउन लागी ।
लौं बाबा, त्यो फुच्ची त कुनबेलादेखि मेरो मुटु मै अखडा जमाएर बसेकी रहिछ, मलाई थाहै भएन । त्यसका बेहिसाब घच्घच्याइले मन त्यसै विचलित हुदैं गयो, म बडो समस्यामा परें । घर, परिवार, सम्मानित जागिर, गाउँसमाजमा प्रतिष्ठा भएको परिपक्व पुरुष म, सबथोक भएर पनि केही नभएजस्तो, कोही नभएजस्तो आफैंभित्र थलिदैं गएँ, थिचिदैं रहे ।
जे हुदैंथियो मैले चाहेर भएको थिएन । मैले सोचेर गरेको थिइन । कसलाई के भन्नु,आफैंले पनि के मान्नृ, प्रेम, आकर्षण, भ्रम, यथार्थ, उमेर, चाहना, प्राप्ती, त्याग, प्रतिष्ठा, अभिप्सा, ऊ, म दुविधैं–दुविधामा पिल्सिदैं गएँ म । दुनियाँलाई भन्नु–नभन्नु, कसैले मान्नु–नमान्नु फरक कुरा तर आफैंलाई ढाट्नु सम्भव थिएन । यता म प्रेममा परिसकेथे|उसलाई चाहन थालिसकेको थिएँ, सम्पुर्णरुपमा । उता ऊ जस्ताको तस्तै कलेज, साथीभाइ, र परिवार, पुस्तक, टिभी, आफ्नै सपनाको संसार बस् बिन्दास् । मलाई उसको बेफिक्रीमा रिस उठ्थ्यो । ‘मलाई बेहाल पारेर हराउन पाउन्नस् तँ’ झपार्न मन लाग्थ्यो ।
एक्लैएक्लै चिच्याउँथे म, भित्रभित्रै कराउथे, “म तेरो प्रेममा परे फुच्चू ।“
तल्काल आफैंभित्र काप्पे,‘मेरो प्रेमलाई कतै बासनाको उपमा दिइयो भने’???
दिनाहुदिन 'ऊ' ममाथि हाबि हुदैं गई । कसैलाई बताउन नसकिने अनौठो रोगले मलाई गाल्दै गयो । म आफैभित्र पिल्सिएर, थिचिएर, लत्रिएर उसको प्रतिक्षा गर्न लागे । भेट्ने बाहानाहरु खेज्दै उकहाँ पुग्न लागे, पुगें ।
एक फुर्सदिलो साझ अस्विकृतीको झापड ब्रजनेछ जान्दाजान्दै पनि उसको मन बुझ्ने दुर्साहस गरें मैले । ‘‘अब कति यताउता लड्खराउछौं बि, आफ्नो पनि घरजम गर्ने बेला भएन र?"
‘‘घरजम......हजुरले भन्नुभयो अब सोच्नुपर्ला की ‘अंकल’?‘‘ आफ्नो प्यारो प्रतिकारात्मक शब्द अंकल जोडेर प्रश्नको आशयलाई नै उडाइदिई उसले ।
‘‘भन त तिमीलाई कस्तो केटा मनपर्छ ?‘‘ मलाई सुन्नु थियों ।
‘‘दुःखको कुरा, मलाई कुनै केटा नै मन परेनन् ।‘‘ पुरानै उत्तर ।
‘‘मलाई ढाटेकी पो हौं कि, कोही प्रेमी ?"
‘‘अब ढाटेकै भएपनि आफ्नो प्यारो मान्छेलाई नभनेर घरजम कसरी पो होला र ?‘‘ आफ्ना चञ्चल आँखाहरु मेरो मुर्झाएको अनुहारमा सर्र दौडाउदै खित्का छाडी उसले ।
‘‘ठट्टा नगर न बि‘‘, थाकेको आवाज मेरो थियो ।
‘‘अरे कहाँ ठट्टा गरिराछु र, साच्चै मलाई कोही मनै परेनन् त म के गरु?‘‘ केही गम्भिर देखिई ऊ।
‘‘अनि बिहे ?‘‘
‘‘म्यारिज ब्यूरो खोल्नुभयो कि क्या हो, म त मेरो बाबाले रोज्नुभएको केटासँगै विवाह गर्छु हैं ? ‘‘ हाँसेर टार्ने उसको पुरानो आदत ।
‘‘तैपनि भनन, तिम्रो रोजाइको पुरुष कस्तो हुनेछ ?‘‘ मैले आफ्नो अडान छोडिन ।
‘‘अब के भने नी, मैले त्यसबारेमा सोचेकै छैन भन्नैपर्दा मलाई ठ्याक्कै मेरो बाबाजस्तै पुरुष मनपर्छ जो आकर्षक होस्, समझदार होस् अनि मलाई बेहद प्रेम गरोस् ।‘‘
मलाई हाँसो उठ्यो, ‘‘बाबाजस्तै भन्दा त कुनै चालिसबर्षेले म तिमीलाई अत्ति माया गर्छु भनिदियो भने ?‘‘ ठट्यौलो सोधाइ ठट्टा थिएन |
‘‘ओहो ! विभुती अनी बूढो ? कस्तो नसुहाएको, केही त शुभ बोल्नुस्.... अँ !म तिमीभन्दा बीसबर्ष पछि जन्मिए ,के गरु त प्रिय? सायद!म यस्तै भन्छु होला । ‘‘ जोडजोडले हाँस्न लागी ऊ । 'त्यो हदभागी प्रेमि मै हुँ भन्ने थाहा पाउदी हो त त्यो हाँसोको पारो अझ कत्ति बढ्दो हो?' मलाई आफैंमाथी दया लागेर आयो ।
हुनपनि ऊ किन कसैले भन्यो भन्दैमा मनिदेओस्? म त्यो लोग्नेमान्छे,जसले आफनी स्वास्नीलाई माया गर्न जानेन, त्यसले फूलको चाह गर्नु मात्र पनि कम्ति दुखदायी थिएन । के भनौं न के भनौंको मनोदशामा धन्न कहाँबाट फुर्यो, ‘‘कथाको प्लट मीठो सुनियो, शिर्षक के राख्छौ नी बी......?‘‘
अन्तत: बाह्रबर्षे जनयुद्ध खेपेर आएको कठोर प्रहरी अघिकृत, एउटी फुच्चीसँग नराम्ररी हार्यो।
आक्रान्त पारेर गुलाफी मुस्कुराहट ओझेल पर्यो । तड्पाएरै मार्ने इरादा थियो की ?
यस्तो सहिनसक्नु ,भनिनसक्नुको रोगले ममा उत्साह, जाँगर ,मनोबल भन्ने कुराको शुन्यान्त नै गराइसकेको थियो । काममा ध्यान लगाउन सकिरहेको थिइन । सारा वातावरण नै बोझिलो लाग्थ्यो, ल्यापटप त खोल्नै छाडिदिएको थिएँ । सम्हालिने हजार प्रयासको बाबजुत पनि ऊ बारबार मलाई गिजोल्न आउथी उही चञ्चलता, चाहना र उत्साहको पछ्यौरीमा ढाकिएर । यस्तैमा एउटा आर्कषक कार्ड मेरो हातमा पर्यो । मेरी फुच्चु विवाह गर्न लागिछें.........‘ओहो ! विभुती अनि बूढो, कस्तो नसुहाएको, केही त शुभ बोल्नुस् ।’ म बूढो, उसको अशुभ,मेरो प्रेम एक नीलो तृष्णा बग्यो सललल.....।
‘‘मेरो प्यारो मान्छे ! मलाई विश्वास छ,प्रतिक्षारत आँखाहरु थाक्ने छैनन् ।” उसका सुन्दर हस्ताक्षरहरुले मेरो खिसि उडाउन छाडेनन् । म निस्सासिएँ, छटपटिएँ । रिसले, आवेगले, संवेगले, तनावले एकैचोटी छटाएँ ।
विवाह भनिएको दिन, अन्तस्करणको भुनभुनसँगै मेरा पाइला छिटोछिटो अगाडी बढ्दैथें । 'कता ?' सायद यही प्रश्न गर्दैथ्यो, शिरिषको फूलभित्र सुरक्षित उही निमन्त्रणा–पत्र ।
(साहित्यकार रमेश पौडेलले भनेजस्तो “नेटमा छुन मात्र सकिदैन हेरी हेरी रुन सकिन्छ” भने झै हेरी हेरी रुनेहरूको मनोविज्ञानमा आधारित यो कथा निक्कै समसामहिक विषयवस्तुलाई समेट्न सफल भएकाले यहाँ राखिएको छ । यो कथा स्रष्टाको फेसबुक नोटबाट साभार गरिएको हो । -सम्पादक)
सत्यकथा जस्तो लाग्यो । आगामी दिनहरूमा पनि यस्तै कथा पढ्न पाउने आशा अनि अभिलाषा ।
ReplyDeleteसमिर कार्की
बेलायत
सुन्दर कथा विद्या जी । यस्तै कथाहरू पढ्न पाईयोस्
ReplyDeleteऋचा शर्मा
काठमाडौं