मधुमास: कविता

रुदैछिन् आमा
-सुमित्रा पौडेल
रुदैछिन् आमा पिंडीमा बसी टुकीको साथमा ।
सुख र खुशी चाहन्छिन् उनी दिन र रातमा ॥
पस्दैछन् सन्तान मुग्लान पारी तिनै हुन साहरा ।
दर्द र पिडा अँगाली सारा खोज्दैछन् ती चारा ॥

मनग्ये थियो तै आफ्नो देशमा विकाश हरायो ।
होडबाजी चल्यो कुर्चीको खेलमा तुवालो भरायो ॥
हाँसो र खुशी खोसियो सारा गाँस, बास, कपास ।
अभावै अभाव देशमा खड्क्यो उठेन आवाज ॥
को पुछ्ने आज बगेको आँशु  नेपाल आमाको ?
बल्दैन किन ? ठोसेको  आगो  करोडौं जनाको
कुर्दैछन् अझै यी दु:खी जनता आँखामा आँशु लि।
देशका दुर्जन मासौँन आजै    यो ऋण असुली ॥

जनताको आशा देशको शान मिलायौ स्वार्थमा ।
आखिर तिम्रै हो जन्मभुमि   लड्दैछौ  व्यर्थमा ॥
सालको पात हल्लिन  त्यसै    हावा नै नलागी ।
विश्वको सामु अस्तित्व झुकाई बन्दैछौ अभागी॥

लागेको बादल नहटे सम्म   देखिन्न  आकाश ।
तेजको होईन    मनिलो बन्छ   सुर्यको प्रकाश ॥
फुलेको फूल   त्यो माली बिना    छर्दैन सुवास ।
भावना शुद्ध    नभए सम्म        बढ्दैन साहस ॥

मुटुमा पर्छ कसिलो गाँठो     फुकाउँने कसरी ?
सम्झिदा आफ्ना बिरह चली मन रुन्छ बेसरी ॥
कोपिलाभित्रै ओईलाउँने होकी बोकेका यी आशा ।
यी टेक्ने पाईला पौरखी हात बन्दैछन् निराश ॥

देशमा आयो धेरै नै तन्त्र लोकतन्त्र केलाई हो ?
जनताको खुशी खोसिने होकी किन यो खेल भो ?
अत्याचार बढ्यो एक भई अब जागन नेपाली ।
प्यारो छ आफै देशको माटो राखौ न सम्हाली  
  
भरतपुर, चितवन
हाल: इजरायल

No comments:

Post a Comment