मधुमास: कथा

रङ्ग-आर्शिवाद रगतको
 -विद्या सापकोटा
धानका बालाहरु लहलह झुल्न लागेका थिए । पहेंला फाँट, सुगन्धि मौसम मन त्यसै रमाउथ्यो । चाडबाडको माहौल, घरघरमा रौनक बेग्लै थियो । पल्लो कमेरेडाडाँमा र वल्लो रातोमाटेमा उत्तिकै चहलपहल देखिन्थ्यो । आ-आफ्ना घर-करेसा लिपपोत र सरसफाइमा होडबाजी नै चल्न लागेको थियो । पधेँरा-कुवामा शहर गएका, विदेशिएका को-को आफन्तहरु गाउँ भित्रिए हिसाबकिताब चलिरहेको हुन्थ्यो । बच्चाहरुको भिन्न झुण्ड नयाँ कपडा लगाएर कसको बाबाले के ल्याए भन्दै घरघर चाहर्न थालेका थिए । माथि पिपलडाँडामा युवाको अर्को मण्डली पिङ हाल्ने लठारो बाट्नको लागि झुत्तिन लागेका थिएँ । नहोस् पनि किन जो बडादशैं आइसकेको थियो ।

ऊ एउटै थियो, यी सबबाट बेखबर । बस्तीको छेउ भएर बग्ने सामरी खोलो झण्डै-झण्डै सङ्लो देखिए पनि बर्खे भेलले बगाएका बलौटे फाँटहरु एकतमासको सान्नटा बोकेर फैलिरहेकै हुन्थ्यो । लमतन्न बगरको झण्डै बीचमा तेर्सिएको ठूलो ढुङ्गामा अडिएर घोरिइरहन्थ्यो ऊ अर्थात् भानुवीर। पश्चिमको चीसो सिरेटोले हान्दा बिगतले झन्झन् झस्काउथ्यो तर पनि त्यो बगर, त्यो खोला अनि आफू अडिइरहेको बढेमाको ढुङ्गासँग खुब प्यार थियो, अनौठो लगाव ।







बूढी विछ्यौनामा पल्टेर सुकसुकाउन थालेपछी केही थाहा नपाए झैं बत्तिन्थ्यो ऊ खोलाको तीरैतीर अनि भलाकुसारीमा घण्टौं-घण्टा ब्यस्त हुन्थ्यो त्यही निर्जिव ढुङ्गोसँग । उसलाई छुट्टै शान्ति मिल्थ्यो त्यहाँ बसेर चिहाउँदा, त्यो भेलले निलिरहने बगर र आफ्नो अवस्था उस्तै लाग्थ्यो 'उजाड तर शान्त' । आँखा घुम्थे फनफनी, हराएकी छोरीको झिनो प्रतिक्षामा ।





उसकी पनि एउटी छोरी थिई, नवमी कै दिन जन्मेकी 'भवानी' । "बा! बा! हाम्रोमा नी खसी काट्ने अनि नयाँ लुगा लगाउने ।" झुम्कैझुम्का भएको रातो घाँगर लगाएर ऊ गाँउको फन्को लगाउँथी । त्यही छोरीको खुसीमा चुर्लुम्म डुबिदिन्थे उनीहरु । कति मीठो र सम्मोही थियो, त्यो पल त्यो सन्तुष्टि ।

समय चलायमान छ; भोगाइहरु एउटै रहदैनन् । हेर्दाहेर्दै भवानी ठूली भई, उसका सपना ठूला भए । उसको गाँउमा हुने एस.एल.सी. सम्मको पढाई सकियो । त्यस्तै अर्को दशैमा टीकाको साईत पारेर, निधारभरी रातो अक्षता र शिरमा पहेंला जमरा सिउरेर बाबुको नाम राख्ने, ठूलो नाम कमाउने आशिर्वाद शिरोधार्य गरेर निस्किई ऊ, सपनाको खोजीमा । सम्झदैंमा आँखा रसाएर आए, भित्र कता-कता बेजोडले दुख्यो । ठीक त्यसैगरी मन भारी भएर आयो जसरी भवानीलाई पूलपारीसम्म पुर्याउन आउँदा ती तीन मनहरु भक्कानिएका थिए ।

समय एउटै रहेन, देशमा द्वन्द्व बढ्यो । ज्याजती, हत्या र अपहरणका विश्रिङ्खल खबरहरु जोडतोडले बज्न लागे । दिन बिते, हप्ता महिना र बर्ष हुदै बर्षैबर्ष बिते । सपनाको महल सिगार्न, बाबुको नाम राख्न गएकी ऊ कहिल्यै फर्किन । 'एकदिन जरुर आउछे' आशाको त्यन्द्रोसँगै ती जोइपोई बूढा हुदै गए भक्कानिदै सम्हालिदै रहें । त्यो खोला त्यसरी नै बगिरह्यो । हरेक बर्खे भेलले त्यो फाँटलाई निलिरह्यो ।बिशेष चाडपर्वको बेला ती जोइपोइ बौलाउन खोज्थें । पीडाले असह्य हुदाँ आमाचाहिं 'तिम्लाई कत्ति न ठूली बनाउन परेथ्यो मेरो काख उजाड्यौ' भन्दै उफ्रिन्थिन् बाबुचाहिं तपतप आशु बगाएर धुमधुम्ती बसिरहन्थे केहिबेर मै निरुपाय बनेर गुट्मुटिदै रुन्थे धित मरुन्जेल । हुदाँहुदै घरमा एककिसिमको सान्नटा छाइसकेको थियो । काम नपरिकन दुईजना एक अर्कासँग बोल्न छाडेका थिए, अथक वेदनाले एक अर्काको आँखामा हेर्ने शक्ति जुटाउनै मुस्किल पर्थ्यो ।

कसैलाई दुःख छ भनेर समयको गति नरोकिने रहेछ । बाँच्नुपर्ने बाध्यतामा गालिएर पनि चल्दोरहेछ जीवन । जसोतसो ती बाँचेकै थिए । छोरीको याद मलिन हुदै थियो, देशमा शान्तिको आशा राख्न सकिने वातावरण बन्न लागेको थियो । बिस्तारै गाउँठाउँमा देशी-विदेशी संस्थाहरुले आफ्नो अग्रसरता पनि बढाउन लागें । यसै मेसोमा एउटा प्रोजेक्ट त्यो गाउँमा पनि भित्रियो । गाउँमा ती एक्लै भएकाले संस्थाकी संचालिकाको बस्ने प्रबन्ध भानुवीरकहाँ सुलभ हुन्छ भन्ने गाउँलेहरुले निचोड निकालें । बूढी एककिसिमले टुटिसकेकी थिइन् त्यसैले इन्कार गर्न खोजेकी हुन् तर त्यस केटीको अनुहारमा के देखे कुन्नि, बूढाबूढीले मुखामुख गर्दै फिस्स हाँसेर सहमतिको मुण्टो हल्लाए ।

त्यो त्यै घरमा बस्ने भई । हरकुरालाई पैसासँग जोडेर हेर्ने बडो जंगली पाराकी थिई त्यो । सधैं उसको हातमा एउटा किताब रहन्थ्यो । बूढाबूढीको मन मान्दैनथ्यो त्यसैले के कसो छ बेलाबखत सोधखोज गर्थे । ऊ भने "मसँग सबथोक छ, महिना-महिनामा तपाईले भाडा पनि पाउनुहुन्छ अहिले जानोस्" भन्दै उनीहरुको घायल मुटु जोडले दुखाइदिन्थी तथापि बूढीलाई किनकिन त्यसको खूब माया लाग्थ्यो ।

एकबिहान घाम लागिसक्दा पनि ऊ उठिन । के भएछ हेर्न जानुपर्यो । बूढी डराउदैं छेउमा बसीं । उसलाई हनहनी ज्वरो आएको थियो । दिनभर कामको दौडघूप, नयाँ ठाउँ, खानपान र पानी फेरिदा सायद उसको कमजोर शरीरले सहेन, ऊ थला परी । बूढाबूढीले खूब मन लगाएर उसको उपचार गरें । विस्तारै ऊ तङ्रिदै गई । यो बिरामीले उसैलाई बदलिदियो । अनाथालयमा हुर्के बढेकी उसले बाबुआमाको माया के हो बल्ल थाहा  पाउन लागेकी थिई । बिरामीबाट उठेपछी बूढाबूढीसँगै बस्न लागी ऊ ।

उनीहरु उसको खूब ख्याल राख्थे । "हजुरहरुलाई सारै दुःख दिए हैं" सजल नेत्रमा कृतज्ञता जाहेर गर्थी ऊ । "सन्तानले बाबुआमालाई कहिल्यै दुःख दिन्नन् बा ।" बूढी ममताको नदी बगाइदिन्थी ।
लगातार दुइ बर्षसम्म त्यही बसी ऊ । उनीहरुकै सन्तान जसरी नै बसी । बूढाबूढीले बिस्तारै भवानीलाई बिर्सदै गए, उसैमा आफ्नी छोरी खोज्न लागें । ऊ बूढाबूढीलाई बा-आमा भनेर बोलाउँथी । पुरानो घाउँमा खाटो बस्दै गयो । उनीहरु फेरि रमाउँन सिके । ऊ नै भवानी हो, आफ्ना कोही हराएकै छैनन् भन्ने सोच्न थाले । समय गइरह्यो ।

उसको प्रोजेक्टको अन्तिम बर्ष चल्दैथियो, कामको मारामार पनि । भ्याइ-नभ्याइको दौडधूपमा पनि उसको अनुहार प्रफुल्ल देखिन्थ्यो । बूढा उसको चटारो बुझ्थे । कहिलेकाहि त झनक्क रिस उठेर आउथ्यो । यो  गएपछी, बूढीको हालत के होला, सम्झेरै कहालिन्थे मन  अमिलो बनाउदै कुना फर्कन्थे ।

एकसाँझ बूढाले सबै बेलिबिस्तार लगाउदैं आफ्नी सन्तान बनेर बस्न आग्रह गरें सगैं भन्न पनि भ्याएँ "म कर लगाउदिन, आगे तिम्रो मर्जी ।" ऊ केही बोलिन कामको चटारो छदैंथियो । प्रोजेक्टको अवधि सकियो सबै फर्किए, उसको त जाने खास ठाउँ पनि थिएन त्यसमा पनि बूढाबूढी प्रति खास कृतज्ञ थिई ऊ । उसले निर्णय सुनाइ "बा ! म तपाईहरुसँगै बस्छु ।"

ऊ बसी । आमाछोरीको खूब कुरा मिल्थ्यो । अरुका छोराछोरी जस्तै ऊ पनि माया गर्थी आमा-बालाई, उनीहरुको सुख-दुःखमा सामेल हुन्थी, अर्मपर्ममा चासो राख्थी । बूढाबूढीले आफ्नी बास्तविक छोरीको अनुहार भूल्न लागिसकेका थिए । तर उसको अनुहार बादलले ढाकिन थाल्यो । केही डराए झैं, कतै हराए झैं, केही भुले झै बिचित्रको व्यवहार देखाउन थाली ऊ । दुब्लाएर फुकिढल हुदैं गई । बूढाबूढी छोरीको हालत देखेर भित्रभित्र भक्कानिन्थे । आफूले उसलाई यहाँ राखेर ठीक गरेनौं कि भनेर भन्दै छटपटाउथे केही भन्न भने सक्दैनथे । ऊ नै उनीहरुको सर्वस्व थिई ।

समय घुमिरहन्छ, खेतको डिलभरी अम्बाका बोटहरु झुल्न लागे । भुई काफलहरु पाक्न थालें । आइमाईहरु पछिल्ला दिनहरुमा रमाइलो गर्नपर्छ भनेर बस्तुभाउको घाँसको जोहोमा लागें । ठूलाहरु जुवातास र गफगाफमा त बच्चाहरु पिङ्गमा मग्न । फेरी त्यही मौसम, त्यही चाड-माहौंल फर्किएर आयो । घरघरमा बस्तीबस्तीमा सौहार्दता, उल्लास र उमङ्ग बोकेर दशैं फेरी आएको थियो । भानुवीरको परिवार पनि टिका लगाउँन बसे ।
"नानु ! भन के आर्शिवाद दिऊँ" आमाको नौनी हृदय पग्लियो ।
"हजुरहरु साच्चै मलाई माया गर्नुहुन्छ र आर्शिवाद दिनुहुन्छ भने मलाई यहाँबाट पठाइदिनुस् । यहाँ म रमाउँन सकिन । बिन्ती नाई नभन्नुस्, म हजुरहरुको यस मायाको लायक बन्न सकिन ।" क्वाँ-क्वाँ रुदैं ममताको आँचलभरि पोखिई ऊ ।

अर्को मिर्मिरेमा, बस्ती बिउँझिनु अगाबै तीन मनहरुबीच कोलाहलमय बिगत ओर्लिसकेको थियो । "हाम्रो मायाले तानेछ भने हामी मर्नु अगावै एकबार आएस् हैं…………" बोल्दाबोल्दै बन्द भए ओठहरु । पहेंलो जमरा, रातो अक्षता केहीबेर मै छाया पर्यो । सगुनको दहीको बोगतो रित्तिदा-नरित्तिदै बल्झियो उही रिक्तताउही सन्नाटाउही सुसाहट ।


(यो कथा स्रष्टाको फेसबुक नोटबाट साभार गरिएको हो - सम्पादक)

No comments:

Post a Comment