मधुमास: कविता

लेख्न विवश छु
-अनुप जोशी
तिमी मलाई नकार्न सक्छौ
धिक्कार्न सक्छौ ।
तिमीले भनेजस्तै,
म तरल छु ।
म पानीको थोपा !
भाडाँको रिक्तता तृप्त गर्छु ।
भाँडाको आकार मेरो आकार
मेरो कुनै रङ्ग छैन ।
तिमी मलाई रातो बनाउछौ
कालो बनाउछौ
रङ्गहीन बनाउछौ
फेरि रङ्ग भर्छौ
धमिल्याउछौकटुसत्य,
म खुम्चिन्न ।
मेरो वजन घट्दैन ।
तिमी मलाई धमिल्याउन सक्छौ
आकार दिन सक्छौ
तर खुम्चाउन सक्दैनौ ।

वास्नादार छु,
म उडी जाने कपुर ।
मेरो सुवासबाट
तिमी पनि लालायित छौ ।

म रातसँगै शुरु हुन्छु
तिमी आफ्नो अन्त्य ठान्छौ ।
म घुल्छु,
तिमी घुलाउँछौ ।
म डुब्छु,
तिमी तैरिन्छौ ।
म हाँस्छु,
तिमी गर्जन्छौ ।

अनि,
तिमीले भुल्यौहोला
तिम्रो रोदनमा,
मेरा परेली भिज्छन् ।
तिम्रो हर्ष,
मेरो जीत ।
तिमी डुब्छौ
म उतार्न खोज्छु
तिमी मलाई लत्याउन खोज्छौ
म तिम्लाई उठाउन ।

No comments:

Post a Comment