रङ्ग-आर्शिवाद रगतको
-विद्या सापकोटा
धानका बालाहरु लहलह झुल्न लागेका थिए । पहेंला फाँट, सुगन्धि मौसम मन त्यसै रमाउथ्यो । चाडबाडको माहौल, घरघरमा रौनक बेग्लै थियो । पल्लो कमेरेडाडाँमा र वल्लो रातोमाटेमा उत्तिकै चहलपहल देखिन्थ्यो । आ-आफ्ना घर-करेसा लिपपोत र सरसफाइमा होडबाजी नै चल्न लागेको थियो । पधेँरा-कुवामा शहर गएका, विदेशिएका को-को आफन्तहरु गाउँ भित्रिए हिसाबकिताब चलिरहेको हुन्थ्यो । बच्चाहरुको भिन्न झुण्ड नयाँ कपडा लगाएर कसको बाबाले के ल्याए भन्दै घरघर चाहर्न थालेका थिए । माथि पिपलडाँडामा युवाको अर्को मण्डली पिङ हाल्ने लठारो बाट्नको लागि झुत्तिन लागेका थिएँ । नहोस् पनि किन जो बडादशैं आइसकेको थियो ।
ऊ एउटै थियो, यी सबबाट बेखबर । बस्तीको छेउ भएर बग्ने सामरी खोलो झण्डै-झण्डै सङ्लो देखिए पनि बर्खे भेलले बगाएका बलौटे फाँटहरु एकतमासको सान्नटा बोकेर फैलिरहेकै हुन्थ्यो । लमतन्न बगरको झण्डै बीचमा तेर्सिएको ठूलो ढुङ्गामा अडिएर घोरिइरहन्थ्यो ऊ अर्थात् भानुवीर। पश्चिमको चीसो सिरेटोले हान्दा बिगतले झन्झन् झस्काउथ्यो तर पनि त्यो बगर, त्यो खोला अनि आफू अडिइरहेको बढेमाको ढुङ्गासँग खुब प्यार थियो, अनौठो लगाव ।