मधुमासः गजल

तिम्रो छोरो फेरिएर आयो
-अतृप्त कमल 
हेर आमा तिम्रो छोरो फेरिएर आयो आज
काठको यो बाकसमा बेरिएर आयो आज

दु:ख चिर्न बिदेशमा भासिएको तिम्रो छोरो
छिया-छिया बनि आफै चिरिएर आयो आज

गरिबीको काँडालाई पन्छाउँछु भन्थ्यो सधैँ
त्यही योद्धा फूलबिच घेरिएर आयो आज

बहिनीको पढाई नै लक्ष्य मेरो भन्दै गा'थ्यो
उही दाजु कालसँग नारिएर आयो आज

कमाएर रमाउँदै फर्की आउँछु बाबा भन्थ्यो
कर्मसँग लड्दा-लड्दै मारिएर आयो आज

बुटवल, रानीबगिया
हाल:-दोहा, कतार

परदेशमा संघर्ष गर्दा गर्दै ढलेको एक जिवनको कथालाई गजलमा उतार्ने मेरो अर्को कोशिसलाई तपाईहरुको सल्लाह र सुझावले नै पूर्ण आकार दिन्छ त्यसैले आवश्यक सल्लाह र सुझावको अपेक्षा गर्दछु, तपाईहरुको मायाको प्यासी.... -अतृप्त कमल (कमल कार्की)

2 comments:

  1. परदेशी छोराहरूको कथा व्यथा समेटिएको गजल । कमल जी मधुमासका लागि सुन्दर प्रेमिल गजलहरू पनि लेख्नुहोला । मेरो शुभकामना ।

    राजेन्द्र कार्की
    बेल्जियम

    ReplyDelete
  2. कस्तो रुवाउने गजल लेखेको दाजु ? चेलीहरूको मुटु छिया-छिया पार्न लेखेको हो ?
    बहिनी कान्छी
    रानी खोला

    ReplyDelete